Categories
समाचार संस्कृती

साकेला/ तोष /भूमेनाच

तेज नाछिरिङ –

हामी विभिन्न रहन-सहन, मौलिक परम्परा र संस्कार भएको, त्यस बिचमा एकले अर्को लाई सम्मान गर्ने समाजमा हुर्किएका, विविधतामा एकता भएका सहिष्णुतायुक्त विवेकशील नेपाली हौँ। त्यसैले त सबैजना पशुपति, स्वयम्भु, बुढासुब्बा जहाँ पुगे पनि नतमस्तक भै प्रणाम गर्ने गर्दछौं, हाम्रो मन्दिर पराई मन्दिर भनेर छुट्याउने चलन छैन। सबैको आस्था समान छन् उत्तिकै पुज्यनीय छन् र सबै परम्पराहरु मौलिक र अर्थयुक्त नै छन् । तिनै मध्ये आफ्नो अलग्गै मौलिक परम्परा, भेष-भुषा, खानपान, भाषा, लिपि र चाड भएका किराँतीहरु पनि नेपाली नै हुन्। किराँतीहरु नेपालमा प्राचिन कालदेखि कै रैथाने हुन् भन्ने नेपालको इतिहासले पुष्टि गरि सकेको छ। इतिहासमा उल्लेखित किरांतबंश हालका राई, लिम्बु, सुनुवार र याक्खाहरु हुन्। लिम्बु, सुनुवार र याक्खाहरु आफ्नो-आफ्नो मातृभाषा बोल्दछन तर राईहरुले आजसम्म पाइए अनुसार ३२वटा अलग मातृभाषा बोलि आएको पाइएको छ। यी राई, लिम्बु, सुनुवार र याक्खाहरु विभिन्न भाषा बोले पनि अन्तरबर्गीय तगारो अर्थात आपसमा सानो-ठुलोको भावना वा स्थान छैन। परम्परा, भेष-भुषा, खानपिन तत्कालिन टाढाको बसाई, आवत जावतको कठिनाई र संचारको असुविधाको कारणलेमात्र अलि फरक भए पनि सबैको एउटै लिपि र चाड छ; त्यसमध्ये यहाँ प्रस्तुत छ; प्रमुख चाड ‘साकेला-उभौली’ ।

साकेला शब्द किरांतहरुको प्रमुख-चाडलाई जनाउने शब्द हो। यो नेपाली शब्दभण्डार र समुदायमा लोकप्रिय भएर आएको धेरै भएको छैन किनभने यो नेपाली भाषा थिएन, नेपालका मध्य-पूर्व अर्थात किरांत क्षेत्रमा अबस्थित राई मातृभाषाको शब्द हो यो साकेला। राईहरुको मातृभाषा विविधताले गर्दा यहि चाडलाई कसैले साकेला त कसैले साकेवा, साकेन्वा, तोसी, तोस् आदि भन्ने गरेको छन्। भाषिक विविधताको कारणबाट बुझाईमा पर्न गएको अप्ठ्यारोलाई महशुस गरि किरांत राईहरुको प्रतिनिधित्व गर्ने संस्था ‘ किरांत राई यायोक्खा,काठमाडौँ ‘ ले चयन गरेको छ साझा नाम ‘साकेला’। साकेला शब्द चामलिंग राईको मातृभाषाबाट आएको हो, अहिले साझा शब्द हुन आएको छ, यो चाड राईहरुको मात्र नभएर सम्पूर्ण किरांत समुदायको साझा चाड हो। लिम्बुहरुको ‘चासोक तंग्नाम’, सुनुवारहरुको ‘स्यादर-पिदार’ यहि चाड नै हो।
हिन्दु धर्मावलम्बिहरुले आफ्नो ठुलो चाड दशैं मान्न भन्दा अगाडी सोह्र श्राद्दको बेला आफ्ना स्वर्गीय माता-पिताको स्रद्धा स्वरूप श्राद्द गर्ने, नवरथा भरि देवीको आरधाना गर्ने अनि दशमीको दिन टिका लगाएर दशैं मान्ने चलन भए जस्तै किरांत बंशका राई, लिम्बु, सुनुवार र याक्खाहरुले पनि बर्षको दुइ पटक उभौली र उधौलिमा आफ्ना पितृहरुको सम्झना गर्नको साथै प्रकृति(आकाश, जमिन, पानी, वायु र आगो) पन्चतत्वको पूजा गरेर मनाउने गरिन्छ। किराँतीहरु प्रकृति-पूजक भएकोले यी दुवै चाड ऋतु परिवर्तनको अवसरमा मनाइन्छ, यसलाई कतै कतै बुझ्न सजिलोको लागि भुमि पूजा पनि भनिन्छ र यसो हेर्दा भूमिलाई पूजेको नै देखिन्छ ! उभौलीको शाब्दिक अर्थ उभोतिर अर्थात मास्तिर भन्ने बुझिन्छ । बैशाखे पूर्णिमा पछाडी ऋतु परिवर्तन भएर जाडोबाट गर्मि सुरु हुन्छ, गर्मि आउलबाट लेकतिर सर्दै जान्छ, रुख-बिरुवाको पालुवा पनि पहिले गर्मि क्षेत्रमा र पछी लेकतिर पलाउने गर्दछ, चरा माछाहरु पनि तलतिर धेरै गर्मि हुने हुँदा उपयुक्त हावापानी खोज्दै उकालो अर्थात लेकतिर जाने गर्दछ अनि गर्मि संग-संगै खेतिको समय सुरु हुन्छ; अब लगाइने बालि सप्रोस, हावापानी राम्रो होस् भन्ने कामना या प्रार्थना गर्नको साथै कृषि औजारहरुलाई पूजा गरि बैशाखे पूर्णिमाको दिन उभौली चाड साकेला मनाइन्छ। त्यस्तै गरि बालि पाकेर भित्र्याउने बेला मंग्सिर महिना हो, यो बेला मास्तिर लेकतिर हिंउ पर्न थालेर जाडो सुरु हुन्छ। जाडोले बोट-बिरुवाको पात झर्न सुरु लेकबाट नै हुन्छ अनि चरा माछाहरु पनि धेरै जाडोको कारण न्यानो हावापानीको खोजीमा ओरालो लाग्दछन। हो, यो बेला मंग्सिरे पूर्णिमाको दिन पनि किरांतहरुले आफ्ना पितृहरुलाई र प्रकृतिलाई नयाँ बालि(न्वांगी) र अदुवा चढाएर साकेला उधौली चाड साकेला मनाइन्छ। यी दुवै अवसरमा चरा, माछा, पाहा र मर्चाको बिशेष महत्व रहन्छ । यी दुइ चाडमध्ये उभौलीलाई बिशेष महत्वका साथ् प्रमुख चाडको रुपमा मानिन्छ, कतिपय गाउँहरुमा बैशाखे पुर्णिमा पछाडी १५ दिनसम्म पनि मनाउने चलन छ। यो भाषाको विविधता जस्तै मनाउने तरिकामा पनि केहि भिन्नता पाइन्छ यद्धपि मनाउनको उद्देश्य उही हो।
प्रत्येक किरांत गाउँ वा समाजमा एउटा साझा मूल पुरोहित र सहायक पुरोहित चयन गरिएको हुन्छ । यो पुरोहित धामी झाँक्री होइनन, धामी झाँक्रीले गर्ने झारफुक, चटके विद्या गर्दैनन्, जानेको पनि हुँदैन; यिनीहरु विशुद्ध कर्म काण्डमात्र गर्दछन, किराँतीहरुको लिखित धर्मग्रन्थहरु नभएकोले पुर्खाहरुले भनी-गरि आएको मुद्धुमलाई नै प्रमुख आधार मानिन्छ, यसमा आफ्नै प्रकारको विधि या प्रक्रियाहरु छन् त्यसका ति प्रक्रिया र त्यो क्रममा आएका बोलि वाक्यहरुलाई नै ‘मुद्धुम’ भनिन्छ र पुरोहितहरुले त्यसैको आधारमा आफ्ना पितृ तथा प्रकृतिसंग पुकारा गर्ने गर्दछन। यिनैले आफ्ना समुदायको सदश्यहरुको जन्मदेखि मृत्युसम्मको कर्म काण्ड गरेको हुन्छ। यी साकेला मनाउने सन्दर्भमा पनि प्रत्येक गाउँ-गाउँमा साझा पुरोहित भए झैं एउटा साझा-स्थल(मन्दिर) चौर पनि हुन्छ, । यसको मतलब मन्दिर अर्थात पवित्र स्थान नै हो, यहाँ मुर्ति वा भवन हुँदैन, चौरको बिच खुला ठाउँमा एउटा च्याप्टो ढुंगा बिछ्याइएको हुन्छ त्यसको छेउमा बिरुवा रोपेको हुन्छ, त्यो ढुंगालाई चोखो राखेको हुन्छ। मंग्सिरे पूर्णिमा(उधौली) होस् या बैशाखे पूर्णिमा (उभौली); सबभन्दा पहिले यहिबाट देवा(पुरोहित)ले पूजा सुरु गर्दछ, यहाँ प्रत्येक घरबाट सहभागी हुन्छन अनि पछी सबैको घर-घरमा गएर मनाइन्छ। साझा मन्दिर (योंग्खोली)बाट सुरुवात भए पनि आफ्नो लागि आफ्नो-आफ्नो घरमा नै गरिन्छ, प्रत्येक घरमा खाना पकाउने तिनवटा ढुंगाले बनाइएको चुला एकै खाले हुन्छ त्यहि चुला नै किरांतहरुको घरको मन्दिर हो, जन्म देखि मृत्युसम्मको सबै कर्मकाण्ड त्यसै चुलामा गरिन्छ र यी दुवै चाडमा आफ्ना पितृहरुलाई बोलाउने, पुकारा गर्ने यसै चुलामा गरिन्छ ।
यो चाड मनाउने क्रममा पुरोहितले पुकारा गर्ने, पूजा गरि सकेपछी अरु उपस्थित सबैजना ढोल-झ्याम्टा बजाएर समय अनुसार खेति गर्दा वा भित्र्याउदा गरिने क्रियाकलापको नक्कलमा ताल मिलाएर गाउँदै नाच्ने गरिन्छ; त्यो नक्कल गरेर देखाइने शिपलाई ‘सिली’ भनिन्छ। यो सिली आकर्षक र अर्थयुक्त छ, त्यसैले अहिलेका पुस्ताहरुले पनि बुझेर यसलाई बचाउने अनि ब्यापक रुपमा प्रदर्शन गर्न थालिएको छ। यो चाड पहिले-पहिले आफ्नो-आफ्नो घर-गाउँमा मात्र मनाइन्थ्यो तर पहिले खुला संचार माध्यमको अभावमा अरुलाई थाहा पनि हुन्न थियो। अहिले आएर ब्यापक रुपमा सार्बजनिक तवरले मनाउन थालिएको छ। यसले एकातिर किराँतीहरुको संस्कृतिको जानकारी अरु समुदायले पनि पाएको छ। यसले किरांत समुदायको किरांत-किरांत र राई-राई बिचको सामान्य फरकहरुको पहिचान गरि समन्वय गराउन सक्ने सम्भावनाहरु पनि बढेर आएको छ ।
छोटकरीमा भन्न पर्दा किरांत बंशका राई, लिम्बु, सुनुवार र याक्खाहरु फरक-फरक मातृभाषा बोले पनि परम्परा, भेष-भुषा, खानपान, भाषा, लिपि र चाड एकै खाले छ । सबैले बैशाखे पुर्णिमालाई उभौली र मंग्सिरे पूर्णिमालाई उधौली चाडको रुपमा मनाउदछन; सबैले यी चाडहरु मनाउँदा आफ्ना पितृलाई सम्झना गर्ने, नयाँ बाली अर्पण गर्ने अनि प्रकृतिका पन्चतत्वलाई पूजा गर्ने गर्दछन, सबैले आफ्नो घरको चुल्हा(मन्दिर)मा सबै कर्म-काण्डहरु गर्दछन यद्धपि साझा मन्दिर सरहको पवित्र-स्थल पनि जान्छन। साझा पुजारी पनि हुन्छ त्यसैले यो परम्परा अरुको भन्दा अलग र मौलिक छ। सबैको परम्परा, रितिरिवाज, लवाई-खुवाईहरु व्यक्ति, समाज अनुसार फरक हुन्छ र सबैलाई आफ्नो परम्परा उत्तिकै प्यारो छ; हामी किरांतलाई पनि सोहि अनुसार प्यारो छ त्यसैले त अहिले नेपाल छोडेर परदेश लाग्नेहरुले पनि आफ्नो पहिचान र चाड यस्तो थियो भनेर चिन्न थालेछन् र छौं।
यो एउटा चाड मात्र नभएर किरांत अग्रजहरुले सिर्जना गरेको शीप र कला हो, किराँती संस्कृति नेपालीहरुको गहना पनि हो यसलाई जोगाएर राख्दा कसैलाई हानी पुग्दैन र यो परम्परालाई मान्दा र जोगाउदा ढुंगेयुगमा पनि फर्किइन्न, आफ्नो परम्परा मान्नु भनेको बर्तमान नेपालको सन्दर्भमा राजनीतिक खिचातानी र झुकावमा सहभागी हुनु पनि होइन, परम्पराबाट जन्मिएको संस्कारलाई यी सब व्यक्तिगत लाभका लागि प्रयोग गर्नेहरुबाट अलग्गै राखी संरक्षण गर्नु हाम्रो दायित्व देखिएको छ ।
यस उभौली-पर्व जस्तो पवित्र चाडलाई चण्डीको नामले पुकारिनु उपयुक्त छैन, चण्डी भनिन हुन्। यस विषयलाई धेरै किरांतराईहरुले पनि महशुस गरि सकेका छन्। किरांत राई यायोक्खा, काठमान्डूले गतबर्षको अवसरमा आफ्नो ब्यानरबाट चण्डी नाम हटाउने प्रयास गरेको पाइयो तर त्यस विषयलाई जनसाधारणसम्म प्रभावकारी ढंगले लगेको पाइएन। जनजिब्रोमा बसि सकेको बानीलाई हटाउन सजिलो छैन र सबैले हाम्रो मातृभाषा उच्चारण गर्न गाह्रो पनि छ। तसर्थ यसको विकल्पमा भोलि किरांत तथा गैर-किरांतको जनजिब्रोमा झुंड्याउन सजिलो हुने र यस पवित्र चाड साकेवा, साकेला, साकेन्वा, तोसी, तोसको शाब्दिक अर्थ पनि लाग्ने उपयुक्त नाम पनि खोज्न आबश्यक छ; जुन ‘भूमिपूजा’ हुन सक्छ र आइन्दा यो संग सम्बन्धित पूजालाई ‘भूमिपूजा’, नाचिने नाचलाई ‘भूमिपूजा नाच’ अर्थात ‘ भुमिनाच’ भनियो भने उपयुक्त हुन्छ ।
अन्तमा छोटकरीमा भन्न पर्दा हामि किरांत राईहरु नेपालका आदिबासी हौँ, पहिले हामीलाई किरांतमात्र भनेर चिनिए पनि कालान्तरमा आएर राई भएका हौँ । हाम्रो प्रमुख बसोबास नेपालको मध्य-पूर्वतिर अध्यावधि छंदै छ र हामि विदेशतिर पनि निकै नै छौं। नेपालमा बसोबास गर्नेहरु प्राय: खेति नै गरि आएका छन् भने देश बाहिर बस्नेहरु जागिर खाने र ब्यापार गर्दछन । हाम्रो छुट्टै परम्परा, बिश्वास र संस्कार छ त्यसलाई किरांतधर्म, मुद्धुम वा मुद्धुम्धर्म पनि भनिन्छ । जे भने पनि यस अन्तर्गत आफ्ना पितृलाई सम्झना अनि सम्मान गर्ने, प्रकृतिको पूजा गर्ने हो त्यसैले संसारमा यस खालको परम्परा, बिश्वास गर्ने मानिसहरुलाई ‘प्रकृति पूजक’ पनि भनिन्छ । हामि जहाँ बसे पनि हाम्रो मौलिक परम्परा, बिश्वास र संस्कारलाई बिर्सेका छैनौ, केहि बिर्से नजानेको भए पनि जान्न र निरन्तरता दिनको लागि सबैजनाले प्रयास गरेकै देखिन्छ। जन्म देखि मृत्युसम्ममा गरिने संस्कार अन्य समुदायको भन्दा अलग भए जस्तै हाम्रो संस्कृति पनि अलग्गै छ जसलाई हाम्रो भाषिक विविधताको कारण साकेवा, साकेला, साकेन्वा, तोसी, तोस भने पनि मान्नको उद्देश्य एउटै छ, यहि पर्वलाई चिन्ने गरि कतिपय क्षेत्रमा नेपाली भाषामा चण्डी-नाच भनि आइएको छ । यस नाचको नाम नेपालीमा चण्डी-नाच उपयुक्त नाम होइन किन भने चण्डी भनेको देवी हो, चण्डी नाच भनेको देवीले बिभिन्न रुप धारण गरेर राक्षसलाई मारेर, तिनीहरुको रगत पिएर त्यसको मातमा नाचेको नाचलाई भनिन्छ। यो उभौली-पर्व भनेको आफ्ना पितृहरुलाई सम्झना र सम्मान गर्ने अनि प्रकृतिको पूजा गर्ने उद्देश्यले नाचिने नाच हो । एउटा तर्क चण्डीपूर्णिमाको दिनबाट मान्न वा नाच्न सुरु गर्ने हुनाले चण्डीनाच भनिएको पनि हुन सक्छ; यदि हो भने गलत हो यदि यसो भन्ने हो भने बुद्धजयन्तीलाई पनि चण्डीजयन्ति भन्न पर्ने हुन्छ किनभने बुद्धजयन्ती पनि त्यहि दिन पर्दछ । चण्डीपूर्णिमा त किन लेखिएको हो भने त्यो दिन गाउँ-गाउँमा भएको देविथानमा बाख्राको दुधेपाठीको बलि दिएर पूजा गरिने भएकोलेमात्र चण्डीपूर्णिमा लेखिएको हो, चण्डी भनेको देवी, देवीपूर्णिमाको सट्टामा धेरै रगतको भोग दिइने भएकोले चण्डीपूर्णिमा लेखिएको हो, हामि किरांत राईहरुको पवित्र पर्व उभौली मान्नको लागि सम्बोधन गरेर चण्डीपूर्णिमा लेखिएको वा भनिएको होइन, यी दुइको मान्ने तरिका, मान्नको उद्देश्य, विषयबस्तु, मान्ने बेला, मान्ने मान्छेहरुको परम्परा र विश्वास नै फरक भएकोले यसलाई चण्डी भनिएको गलत हुन्छ, हामीले वास्तविक अर्थ र तथ्य नबुझिकन भनि आइएको हो। यसलाई चण्डीपूर्णिमा भनियो भने यो आफ्ना पितृको सम्झना गर्ने र प्रकृतिको पूजा गर्ने पवित्र पर्व र रगतको होलि खेल्ने कथा र इतिहाससंग जोडिन जान्छ त्यसैले यसलाई चण्डीको नाच अर्थात चण्डीनाच भनिन हुन्न। त्यसको लागि हामीहरुले यस अवसरमा गरिने पूजा र नाचमा गरिने क्रियाकलापहरु यसै पृथ्वीमा भएका र भेटिने वास्तविक सत्य तथ्य बस्तुहरुसंग आधारित भएकोले मिल्दो र उपयुक्त शब्द प्रकृतिसंग नै सम्बन्धित भूमिपूजा हुन्छ । त्यसैले आफ्नो मातृभाषामा साकेवा, साकेला, साकेन्वा, तोसी, तोस जे भने पनि नेपालीमा “भूमिपूजा” र यस अवसरमा नाचिने नाचलाई”भुमिपूजानाच” अर्थात “भुमिनाच” भन्न उपयुक्त हुन्छ ।
  • पुरोहित: जसलाई लिम्बुले ‘फेदांग्मा’, सुनुवारले ‘नासो’ राईहरुको नाच्छ्रिंगले देवा अथवा नक्छो, बान्तावा र चाम्लिंगहरुले नाक्छोंग भनिन्छ।
  • सहायक पुरोहित: तंकुवा, तंकु(राई- नाच्छ्रिंग)।
  • साझा पुजा गर्ने ठाउँ: राईहरुको नाच्छ्रिंगहरुले योंग्खोली भनिन्छ, थुलुंग राईहरु तोसिखुम भन्दछन, सुनुवारहरु चण्डीथान भन्दछन।
  • पाहा: लेकमा पाइने भ्यागुता बर्गको जीव, भ्यागुताको छाला खस्रो हुन्छ पाहाको चिप्लो, भ्यागुता थोरैमात्र उफ्रन सक्छ पाहा धेरै टाढा उफ्रन सक्छ, पाहा खान योग्य हुन्छ भ्यागुता योग्य मानिन्न।
  • मर्चा: बिशेष झारहरुसंग अन्नको पिठो मिसाएर जाँड बनाउन प्रयोग गरिने औषधि अर्थात इष्ट।
(खोटाङ , हाल क्यालिफोर्निया, अमेरिका )

Leave a Reply

Your email address will not be published. Required fields are marked *


बिज्ञापन