Categories
समाचार सूचना

नाछिरिङ भाषाको पाठ्यक्रम निर्माण सम्पन्न

काठमाडौं । 
किरात रदु नाछिरिङ साखाम केन्द्रले नाछिरिङ भाषाको पाठ्यक्रम निर्माणको कार्य सम्पन्न गरेको छ ।


नाछिरिङ जातिकोलोप हुन लागेको भाषा, संस्कृति, इतिहासको संरक्षण एवम् संवर्धन गर्न किरात रदु नाछिरिङ साखाम केन्द्रले विद्यालय आधारभूत तहमा स्थानीय मातृभाषा विषयको रुपमा पठनपाठन गर्नका लागि नाछिरिङ भाषाकोे पाठ्यक्रम निर्माण गरेको हो ।


पाठ्यक्रम निर्माण समिति, सल्लाहाकार तथा नाछिरिङ पुर्खाहरु विच विभिन्न चरणको छलफल तथा कार्यशाला गोष्ठी गरी कक्षा १, २ र ३ को नाछिरिङ भाषाको पठ्यक्रम निर्माण गरेको छ ।


सुनाइ, बोलाइ, पढाइ, लेखाइ जस्ता भाषिक विकासका साथै सामाजिक तथा साँस्कृतिक संरक्षण तथा स्रवद्र्धनको लागि नाछिरिङ भाषाको व्यवहारिक प्रयोग गर्नु यसको प्रमुख उद्देश्य रहेको पाठ्यक्रम निर्माण समितिको संयोजक राम कुमार नाछिरिङले बताए ।


भाषाविद डा. तारामणि राईको सल्लाह तथा समन्वयमा पाठ्यक्रम निर्माण समिति तथा भाषा बोल्न जान्ने पुर्खाहरुसँग विभिन्न चरणमा सम्पन्न कार्यशाला गोष्ठी पश्चात पाठ्यक्रमले अन्तिम रुप पाएको हो । गत मंसिर १४ गते धरानमा विभिन्न जिल्लाको ३५ भन्दा बढि नाछिरिङ पुर्खाहरुको उपस्थितिमा पहिलो कार्यशाला गोष्ठीले हामी सबै एउटै नाछिरिङ हौ, हाम्रो भाषा एउटै नाछिरिङ हो भन्ने भेलाको मूल निष्कर्ष पछि पाठ्यक्रम निर्माण गर्न बाटो खुल्ला भएको किरात रदु नाछिरिङ साखाम केन्द्रको अध्यक्ष सकल बहादुर नाछिरिङले बताएका छन् । पाठ्यक्रम निर्माण भै सकेको हुनाले नाछिरिङको सघन बस्ती भएको स्थानिय विद्यालयमा आगामि शैक्षिक सत्रबाट पाठ्यक्रम लागू गर्न स्थानिय तहसँग पहल गर्ने समेत अध्यक्ष नाछिरिङले बताए ।

२०६८ को जनगणना अनुसार नाछिरिङ भाषा बोल्नेको संख्या १०,०४१ जना रहेको छ । नाछिरिङ जातिको मुख्य बसोवास स्थल नेपालको पूर्वी क्षेत्र सोलुखुम्बु जिल्लाको सोताङ गा.पा., महाकुलुङ गा. पा., खोटाङ जिल्लाको ऐसेलुखर्क गा.पा. मा घना बस्ती रहेको छ । यस बाहेक सँखुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, तेहथुम, इलाम, झापा, उदयपुर, काठमाडौँ, ललितपुर, भक्तपुर र प्रवासमा दार्जिलिङ, सिक्किम लगायत भारतका अन्य स्थानहरुमा पनि बसोवास रहनुको साथै भुटान, हङकङ, सिङ्गापुर, बेलायत (युके) अमेरिका, क्यानडा लगायतका देशहरुमा समेत नाछिरिङको बसोवास रहेको पाइन्छ ।


साथै नाछिरिङ भाषाको पाठ्यपुस्तकको काम पनि पाठ्यक्रम सँगै धेरै काम भै सकेको जनाउदै यहि चैत महिना भित्र पाठ्यपुस्तक प्रकाशन भैसक्ने किरात रदु नाछिरिङ साखाम केन्द्र, शैक्षिक तथा प्रकाशन विभागका संयोजक भविशंकर नाछिरिङले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


बिज्ञापन