हाम्रो बारेमा

नेपालको विविध जातिहरुमध्ये किरात खम्बू मुलका “नाछिरिङ जाति” समुदाय एक छुट्टै लोपोन्मुख मातृभाषा, परम्परा मौलिक संस्कृति, धर्म, लिखित अलिखित इतिहास, परम्परागत भूमि र छुट्टै पहिचान भएको एवं राष्ट्र विकासको मूल प्रवाहमा समाहित हुन नसकेको आदिवासी जनजाति भएको हुँदा नेपालको संविधान २०७२, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अनुसार आफ्नो भाषा संस्कृति, परम्परा, धर्म, कला, परम्परागत सीप, प्रविधि, पहिचानको संरक्षण, उत्थान र विकास गर्दै समुदायको अन्य सामाजिक, शैक्षिक, आर्थिक आदिको विकास गर्न सके राष्ट्रको सर्वाङ्गीण विकास, भातृत्व विकास, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा सहायकको भूमिका निर्वाह गरी राष्ट्रिय विकासको मूल प्रवाहमा समावेश हुन वाञ्छनीय भएकोले यो संस्था स्थापना गरिएको छ ।

नाछिरिङ जाति सामुदायको आफ्नो छुट्टै मातृभाषा, सामाजिक संरचना संस्कार–संस्कृति, जिवन शैली र आदिम भूमि, अलिखित तथा मैखिक इतिहास भएको नेपालको एक आदिवासी भूमि पुत्र हो । राज्यको हरेक निकायमा पहिचान, प्रतिनिधित्व, पहुँच र नियण्त्रन नभएको हुँदा सामुदायको सामाजिक, शैक्षिक, र आर्थिक विकास गर्दै भातृत्व, धार्मिक साहिस्णुता र राष्ट्रिय एकता कायम राख्दै राज्यको हरेक तह र निकायमा सहभागी हुने संकल्पका साथ मिति २०७५/ ०२/०७गते जिल्ला प्रशासन कार्यालय काठमाडौमा दर्ता गरी यो संस्था विधिवत रुपमा स्थापना गरिएको हो ।

खोज, अनुसन्धान र अग्रज पुर्खाहरुको भनाई अनुसार तुम्सोलीको छोराहरू मध्ये कान्छा सन्तान नाछिरिङ हो । नाछिरिङका छोराहरु छुट्टीएर अलग अलग हुदै थुक्सी खोटाङ जिल्लाको राखा गए, रोचो वाङदेल गए र खेवाबु पारा गए । खप्दुलु सोलुखुम्बु जिल्लाको पिल्मोङ गए र राताप्खु सोही जिल्लाको सोताङ गए । यि जातिको मौलिक साझा भूमि सोलुखुम्बु जिल्लाको पूर्व क्षेत्र सोताङ पावै सबै गा.वि.स. र बुङ्ग, गुदेल, लोखिमका केहि ठाँउहरु साथै खोटाङ जिल्लाको उत्तरी भूभाग सोलुखुम्बु जिल्लासँग जोडिएको राखा वाङदेल, बाकाचोल बादेल, पारा, ऐसेलुखर्क दिम्मा, पातेल हवौउ, दिप्सुङ, सुङदेल, बासपानी, सिमपानी बाक्सीला, खार्ताम्छा, पाथेका गा.वि.स. फेदी पत्करु, डुम्रे धारापानी, माक्पा, सप्तेश्वर आदि गा.वि.स. हरुमा बसोवास रहेको छ । उल्लेखित भू–भागमा पर्ने विभिन्न स्थान, गाँउ, खोला नाला र भिर पाखाहरु नछिरिङ भाषामा नामाकरण गरिएको पाइन्छ । नाछिरिङ जाति समुदायलाई वर्तमान अवस्थामा सोताङ, वाङदेल, राखाली, पाराली, दिम्माली, पिल्मोङरपिल्मोछा र नाम्लुछा जस्ता पर्यायवाची नाछिरिङ समुदाय बसोवास भएको गाँउठाँउको नामले पनि परीचित छन । यो जाति समुदायको बसोवास उद्गम थलो खोटाङ र सोलुखुम्बु   जिल्लाका साथै नेपालको विभिन्न जिल्लाहरुमा काठमाण्डौ, ललितपुर, भक्तपुर, पूर्वि पहाडी जिल्लामा ओखलढुङ्गा (जुगेपानी), तेह्रथुम, भोजपुर, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, उदयपुर, सुनसरी, मोरङ, झापा लगायत अन्य जिल्लाहरुमा पनि बसाई सराइ भई बसोबास रहेको पाइन्छ । त्यसैगरी विदेशमा अमेरीका, हङकङ, बेलायत, भुटान र भारतको सिक्कीम दार्जिलिङ लगायत विभिन्न प्रन्तहरुमा समेत रहेको पाइन्छ ।

परिदृश्य

समाज र राज्यमा पहिचान, प्रतिनिधित्व र पहुँच स्थापन गर्दै, नाछिरिङ जाति समुदायलाई आफ्नो मौलिक भाषा, धर्म, संस्कृति, भेषभुषा र इतिहासको संरक्षण सम्बद्र्धन तथा अध्ययन अनुसन्धान गर्दै, समाज र राज्यमा आफ्नो जातिय तथा सामुदायको सामाजिक, आर्थिक, शैक्षिक र राजनैतिक विकास गर्दै सामाजिक न्यायपूर्ण राज्य तथा समतामुलक समाज निर्माणमा टेवा पु¥याउने ।

उद्देश्यहरू

नाछिरिङ जातिको भाषा, धर्म, संस्कृति, परम्परा, कला, ज्ञान, सिपहरूको संरक्षण सम्बद्र्धनगरी नेपालमा रहेका आदिवासी जनजातिहरूसंग भाइचारा धार्मिक र जातिय सहिष्णुता कायम राख्ने । राष्ट्र विकास निर्माणमा ऐक्यवद्धता गर्दै नाछिरिङ जाति समुदायको विकास उत्थान र चेतनाकासाथ आदिवासीहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघिय घोषण पत्र र अन्तराष्ट्रिय श्रम संगठनको अभिसन्धी १६९, सि.वि.डि धारा ८  र यू.एन. ड्रिपमा उल्लेखित अधिकार सम्बन्धी काम गर्ने ।

रणनिति

सचेतिकरण र संगठन निर्माण र शसक्तिकरण माध्यमले समाज र राज्यमा प्रतिनिधित्व र पँहुचका लागि अधिकारमुखी एवं कर्तव्यमुखी कार्यक्रममा जोड दिने । नाछिरिङ समुदायलाई संगठित र सक्षम गर्दै सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक विकास र अवसरहरूमा आफ्नो पहिचान, प्रतिनिधित्व र पँहुच स्थापित गराउने ।

मुल्य मान्यता

संस्थाको उद्देश्यहरू प्राप्तीको लागि निम्न मुल्य  मान्यताले अभिप्रेरित गर्दछ ।

आपसी सदभाव त्याग र एकता, निःस्वार्थ सहभागीता, सहयोग र समझदारी समता, निष्पक्षता र पारदर्शिता इमान्दारीता र जवाफदेहिता मानव अधिकारको सम्मान ।

कार्यक्रमहरू
भाषा, संस्कृति, कला र साहित्य संरक्षण सम्बद्र्धन खोज, वृत्त चित्र निर्माण, अनुसन्धान तथा अभिलेखिकरण,
इतिहास र वंशवाली अध्ययन तथा संकलन,
राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आदिवासी नाछिरिङ जातिको पहिचान तथा अधिकार स्थापना गर्ने ।


बिज्ञापन