Categories
समाचार संस्कृती

नाछिरिङ भाषाको पाठ्यपुस्तक सार्वजनिक

किरात नाछिरिङ भाषाको पाठ्यपुस्तक सार्वजनिक भएको छ । कक्षा–१ का विद्यार्थीहरुका लागि तयार पारिएको पाठ्यपुस्तक सोमबार सार्वजनिक गरिएको हो ।

किरात रोदु नाछिरिङ साखम केन्द्रले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रगानका रचियता व्याकुल माइलाले ‘रुखम’ पुस्तक बिमोचन गरेका हुन् । पुस्तकमा नाछिरिङ भाषाको आधारभुत बिषयहरु राखिएका छन् ।

पुस्तकमा नाछिरिङ भाषाको सुनाइ, बोलाइ पढाइ, र लेखाइ सिप भाषिक सीप तथा शब्द भण्डार तथा भाषातत्व सम्बन्धी आधरभुत बिषय समावेश गरिएको संस्थाका उपाध्यक्ष भिमराज नाछिरिङले बताए ।

८४ पृष्ठ रहेको पुस्तकमा नाछिरिङ भाषा बुझाउन सचित्र प्रस्तुती समेत राखिएको छ । 
उनका अनुसार यो पाठ्यपुस्तक सोलुखुम्ब र खोटाङका केही विद्यायलहरुमा पढाइनेछ । नाछिरिङ भाषाका अन्य पुस्तकहरु पनि संस्थाले क्रमस प्रकाशन गर्ने उनको भनाई छ ।

कार्यक्रममा राष्ट्रगानका रचियता व्याकुल माइलाले राज्यले गर्नुपर्ने काम संस्थाले गरेको भन्दै प्रशंसा गरे । उनले सबैको भाषा, संस्कृतिको संरक्षणको दायित्व राज्यको भए पनि त्यसो हुन नसेको बताए ।

किरात रोदु नाछिरिङ साखम केन्द्रका अध्यक्ष सक्कलबहादुर नाछिरिङले नाछारिङ भाषाको अभिलेखिकरणमा संस्थाले तिव्रता दिने बताए ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक किरात राई संघका महासचिव जीवन नाछिरिङ राईले नेपालका आदिवासी जनजाति समुदायको भाषाको संरक्षण, सम्बद्र्धन र अभिलेखीकरणमा राज्यले सहयोग गर्नु जरुरी रहेको बताए ।

आदिवासी समुदायको भाषा र संस्कृति देशकै सम्पती भएको भन्दै उनले देशको पहिचान पनि यहीसँग जोडिएको उनको भनाई छ । कार्यक्रममा भाषाविद् डा. तारामणि राई, भद्रगोल किराती लगायतले भाषाको महत्वको बारेमा बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


बिज्ञापन